Need Help ?
Call: +977- 064420105
News Flash

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय गोरखामा !!!

जिल्लाको सामान्य परिचय

जिल्लाको भौगोलिक अवस्था

२७ डिग्री ४५ मिनेट देखि २८ डिग्री ४५ मिनेट उत्तरी अक्षास तथा ८४ डिग्री २७ मिनेट देखि ८४ डिग्री ४५ मिनेट पुर्वी देशान्तरको भौगोलिक अवस्थितिमा अवस्थित यस भु भाग गोरखा जिल्लाको नामले परिचित छ । यस जिल्ला हावापानीको हिसावमा नकारात्मक ५ डिग्रीका हिमाल पारीका उपत्यका र वेशीहरु देखि दक्षिणमा दरौदी मस्याङ्गदी चेपे र बुढी गण्डकी नदीले वनेका टारहरु तथा तीनै टारहरुमा आधारित अग्ला मध्ये पहाडी क्षेत्रहरु सहितका २५ – ३०  डिग्री सम्मको न्यानो हावापानी पाइन्छ ।

नेपाल एकिकरणको गरिमामय इतिहास वोकेको यस गोरखा जिल्ला पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगतको गण्डकी अञ्चलमा अवस्थित एक पहाडी तथा हिमाली जिल्ला हो । दक्षिणमा चितवनको सीमा टारहरु हुदै अग्ला होचा महा भारतीय भु भागहरु तथा तीनको सिरानी मनाशलु हिमाल र अन्य हिमाली क्षेत्रहरु समेत हुदै चीनको स्वशासित तिव्वतको सीमा सम्म विस्तार भएको छ ।

जिल्लाको क्षेत्रफल ३६१० वर्ग कि मि मा एक नगरपालिका, ६६ गा वि स तथा १३ वटा इलाकाहरु तथा ३ वटा प्रत्यक्ष सविधान सभा निर्वाचन क्षेत्रहरुको रुपमा राजनीतिक रुपमा विभाजित छ । सदरमुकाम गोरखा नगरपालिका देखि सुदुर उत्तरी क्षेत्रमा अवस्थित गाउ विकास समितिहरुसम्म को पहुच न्युनतम २० देखि अधिकतम ५८ कोष क्षेत्रमा पर्ने गा वि स हरु २० वटा रहेकाले[1] ती गा वि स हरुवाट सदरमुकाम सम्मको पहुच ज्यादै गाह्रो छ । भौगोलिक वनावटको आधारमा जिल्लालाई निम्नानुसार विभाजन गर्न सकिन्छ ।

१  हिमाली क्षेत्र

समुन्द्र सतहवाट ५००० मिटर देखिका अग्ला सवै भु भागहरु हिमाली क्षेत्र अन्तरगत पर्दछन । मनासलु, श्रृङ्गी, वौद्द हिमाल, रुपीनाला पहाड, लार्कै भञ्ज्याङ् , ग्याला भञ्ज्याङ, हिमाल चुली,  गणेश लगायतका हिमालहरु यस क्षेत्रका सम्पदाहरु हुन ।

२  भोट तथा लेकाली क्षेत्रहरु

समुन्द्र सतह्बाट करिव २५०० मिटर देखि ५००० मिटरसम्म अथवा हिमाली क्षेत्र सम्मको वीचको भुभागमा पर्ने हिमाली वेशीहरु तथा वस्तीहरु यस भौगोलिक क्षेत्रमा पर्दछन । यस क्षेत्रमा पर्ने वस्तीहरु मुलत सामागाउ, ल्हो, छेकम्पार आदि गाउ विकास समितिका क्षेत्रहरु पर्दछन । यस क्षेत्रका वस्तीहरुमा असौज देखि चैत्र सम्मको करिव ७ महिना हिउ पर्ने गरेको देखिन्छ ।

३  उच्च पहाडी क्षेत्रहरु

समुन्द्र सतहवाट १५०० देखि २५०० मिटर सम्मका क्षेत्रहरुमा रहेका प्रोक, विहि, सिर्दीवास, चुम्चेत, उहीया, लाप्राक, वारपाक, गुम्दा, काशी गाउ, केरौजा, मान्वु लापु जस्ता १२ गाउ विकास समितिहरु यस क्षेत्रहरुमा पर्दछन ।

४ पहाडी क्षेत्र

समुन्द्र सतहवाट ९०० देखि १५०० मिटर सम्मको उचाईमा पर्ने यस भौगोलिक क्षत्रमा जिल्लाका अधिकाश भु भागहरु पर्दछन । यसमा मुख्य त गोरखा, मनकामना,  लिगलिगकोट, ताकुकोट, सिराञ्चोक, भच्चेक आदि जस्ता रमणीय क्षेत्रहरु पर्दछन ।

५ बेशी तथा टारहरु

पालुङ्टार, ध्याल्चोकटार, च्याङ्लीटार, छेवेटार, कुन्दुरटार, महादेवटार, क्यामुन्टार, आरुटार जस्ता टारहरु तथा चेपे मस्याङ्दी, दरौदी र वुढीगण्डकी नदीहरुले वनाएका विशाल र अनगिन्ती टारहरु तथा वेशीहरु यस भौगोलिक अवस्थामा पाइन्छन । कृषि उत्पादनको विचारवाट यी टारहरु गोरखा जिल्लाका सवै भन्दा भरपर्दा श्रोतहरु हुन ।

नदीहरु

जिल्लाका प्रमुख सीमावर्ती र आन्तरिक नदीहरुमा त्रिशुली, मस्याङ्दी, चेपे, दरौदी र बुढी गण्डकी नदीहरु हुन । करिव ७००० मिटरको उचाईमा अवस्थित लार्के र ग्याला हिम श्रृखंला वाट उत्पन्न भै स्यार खोलामा मिसिने बुढी गण्डकी वेनीघाटमा आएर त्रिशुलीमा मिसिन्छ । यस नदीको किनारामा घ्याल्चोक, दर्वुङ फुजेल, नामजुङ वोर्लाङ धावा तान्द्राङ आरुचनौटे  गा वि स हरुको वेशी हुदै आरुघाट पुगिन्छ । त्यहावाट मान्वु काशीगाउ, केरौजा, सिर्दीवास, चुम्चेत छेकम्पार विही प्रोक, ल्हो, र सामागाउ जस्ता उत्तरी गाउ वस्तीहरु यसै नदीको किनारमा अवस्थित छन ।

रुपीनाला भञ्ज्याङवाट उत्पती भई गोरखा जिल्लाको मध्ये भागवाट वग्ने यस नदी आवु खैरहनीमा आएपछि मस्याङ्दी नदीमा मिसिने नदी दरौदी नदी हो । जिल्लाको भच्चेक, सिराञ्चोक, वारपाक जस्ता रमणीय स्थानहरु यस नदीका आसपासका क्षेत्रहरु हुन । वौद्ध हिमालवाट उत्पत्ती भै गोरखा जिल्लाको पश्चिमी सीमानावाट वग्ने यो चेपे नदी राइनासटारवाट मस्याङदी नदीमा मिल्न जान्छ । दामोदर कुण्ड तिलिचो ताल तथा अन्नपुर्ण हिमालको वीचवाट उत्पन्न भै शुरुमा मनाङ जिल्लाको मध्यभाग हुदै वग्ने यो नदी मनाङको तिल्चे आएपछि लम्जुङको विचवाट तथा गोरखा र लम्जुङको सिमानाको वीचमा पर्ने पालुङटार, गाईखुर, च्याङ्ली, धुवाकोट तथा देउराली हुदै अन्तमा मुग्लीनमा आएर त्रिशुलीमा मिसिन्छ ।

तालहरु

  • कल्छुमन ताल प्रोक
  • उहियाको ठूलो दुध पोखरी र तातो पानी
  • नारद पोखरी
  • भुलभुले खार , खोप्लाङ
  • रानी पोखरी
  • वीरेन्द्र पोखरी सामागाउ

प्रमुख हिम श्रृखंलाहरु

  • मनास्लु, ८१६३ मिटर
  • हिमालचुली, ७८७१
  • ग्याली चुली, ७८७१
  • हिमालचुली,  ७५४०
  • हिमालचुली, ७३७१
  • मनाशलु , ७१५१
  • वौद्ध हिमाल ६६७२

जिल्लाको ऐतिहासिक पृष्ठभूमि

गोरखा वशांवलीका अनुसार राजा नरेन्द्रदेवको पालामा गुरु गोरखनाथ नेपाल आउदां उनको अनादर गरेको भनी रिसाएर काठमाडौंवाट गोरखनाथ यो पश्चिमी पहाडीभागमा आई तपस्यारत रहनु भयो । यसै स्थानमा उनको पवित्रताको प्रभावले गोरखा नाम रहन गयो ।

वर्तमान गोरखा जिल्ला नेपालको इतिहासमा ऐतिहासिक स्थानको रुपमा रहनेछ । वर्तमान नेपालको भुगोल कायम रहनुको पछाडि गोरखा जिल्लाको महत्वपुर्ण स्थान र भुमिका छ । गोरखाले वर्तमान नेपालको भौगोलिक जग वसाल्नु पुर्वका स्थितिमा अन्यत्र जस्तै गोरखा जिल्लाका विभिन्न इलाकाहरुमा पनि आ–आफ्नै शासकहरु थिए । उनीहरु वीचमा हुने  युद्धले स्थिरता खोजिरहेको थियो । यसै समयमा वि स १६१६ शालमा लमजुङे राजा यशोव्रम्हा शाहका कान्छा छोरा द्रव्यशाहवाट स्थापित गोरखा राज्य इतिहासमा विभिन्न प्रकारका चक्कर खादै वर्तमानमा गणतन्त्र नेपालको अवस्थामा आइपुग्न सफल भयो ।

द्रव्य शाहले वि स १६१६ देखि १६२७ सम्ममात्र गोरखामा शासन गरे । त्यस पछि उनका शाही उत्तराधिकारीहरुवाट शासन सञ्चालन हुन गयो । उनका सुयोग्य उत्तराधिकारी रामशाहले १६६३–१६९३ सम्म शासनकालमा गोरखामा रीतिस्थिति वाधिएकाले चर्चित तथा न्यायिक वन्यो । यसको आधारमा न्याय नपाए गोरखा जानु भन्ने उत्ति प्रचलनमा आयो । उनी पछिका उनका उत्तराधिकारीहरुले सामान्य ढगंवाट राजकाज चलाउदै परम्परा धान्दै गए । हुने विरुवाको चिल्लोपात भने झै पृंथ्वीनारायण शाहको पालामा गोरखा विशाल गोरखाको रुपमा आफना भौगोलिक सिमानाहरु उत्तरी र दक्षिणी वादशाहरुलाई चकित पार्ने गरी विस्तारित हुदै गए । उनका उत्तराधिकारीहरुले यो अभियानलाई अझै अगाडि वढाई दक्षिणी विशाल फाटहरुसम्म आफ्नो अधिपत्य कायम गरे । पछि सुगौली सन्धीले नेपाललाई यो हालको सिमानामा ल्याएर खुम्च्याइदियो ।

नेपाल भित्रको कान्छो र गरिव राज्य भैकन पनि यसले जसरी नेपाल निर्माणको महान अभियान सफल पार्यो त्यसै गरी यो जिल्लाले धार्मिक, एतिहासिक तथा प्राकृतिक सुन्दरता र सम्भाव्यतालाई आफैमा सगालेर राखेको छ । मनकामना देवीको पावन भुमि, गोरक्षनाथको देश, द्रव्यशाहले शासन गरेेको भग्नावशेष युक्त दरवार, वज्र भैरव मन्दिर, रामशाहले न्याय दिने चौतारो, उनकी नातिनीले वनाएको रानीवन र गोरखकाली मन्दिर, गुफाहरु तथा अन्य मन्दिरहरु जस्तो सुलीकोट गुफा स्वारा, सिद्ध गुफा घ्याल्चोक, वक्रेश्वर गुफा वक्राङ, आदि गोरखाका वहुमुल्य सम्पत्तिहरु हुन ।

राजनीतिक तथा प्रशासनिक विभाजन

प्रशासनिक दृष्टिकोणवाट गोरखा जिल्ला ६६ गाउ विकास समितिहरु तथा एक नगरपालिका, १३ इलाका र तीन निर्वाचन क्षेत्रअरुमा विभाजित रहेको छ । जसलाई यस प्रकार उल्लेख गर्न सकिन्छ ।

  • अञ्चल : गण्डकी              
  • विकासक्षेत्र : पश्चिमाञ्चल        
  • जिल्ला : गोरखा
  • सविधान सभा निर्वाचन क्षेत्र :
  • इलाका संख्या :                 १३
  • नगरपालिका संख्या:          
  • गा.बि.स. संख्या :               ६६                       
  • वडा संख्या : ६०५

शैक्षिक प्रशासन

जिल्लामा शिक्षा मन्त्रालय अन्तरगत रहने गरी जिल्ला शिक्षा कार्यालय, जसको नेतृत्व नेपाल शिक्षा सेवाका उपसचिवले गर्दछन तीनको मातहतमा योजना तथा कायक्रम, आन्तरिक प्रशासन, विद्यालय प्रशासन तथा परीक्षा शाखा, र निरीक्षण तथा तालिम शाखा गरी तीन शाखा रहेकाछन । ती तिन शाखाहरुवाट विभिन्न ढगंवाट जिल्लाका शैक्षिक प्रशासन सञ्चालन हुने गरेको छ । निरीक्षण तथा तालिम शाखा अन्तरगत विभिन्न ८ वटा निरीक्षण क्षेत्रहरुमा ८ विद्यालय निरीक्षकहरु  र तीनको मातहत १८ वटा श्रोतकेन्द्रहरु रहेको अवस्था छ ।